सिसेल्समा तिहार, नेपाल संवत् र छठ पर्वको उल्लासमय कार्यक्रम सम्पन्न

सिसेल्स, प्रास्लिन — गैरआवासीय नेपाली संघ (एनआरएन) सिसेल्स राष्ट्रिय समन्वय परिषद् अन्तर्गत प्रास्लिन आईल्यान्ड समितिको आयोजनामा शुभ दीपावली, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम सिसेल्सस्थित एभ रेष्टुरेन्टको सभाहलमा २०८२ कार्तिक १ गते (२०२५ अक्टोबर १९, आइतवार) साँझ ६ बजेदेखि राति ११ बजेसम्म अत्यन्तै हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको हो।

 

कार्यक्रममा सिसेल्सका विभिन्न क्षेत्रका करिब ७० देखि ८० जना नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रवासमा रहेका नेपालीबीच एकता, सौहार्द र संस्कृतिप्रतिको समर्पण झल्किएको देखिन्थ्यो।

 

उक्त कार्यक्रमको सभाध्यक्षता एनआरएन सिसेल्सका पूर्वअध्यक्ष तथा वरिष्ठ संरक्षक मनोज बि.क.ले गर्नुभएको थियो। प्रमुख अतिथि परिषद्का सचिव थानेश्वर तिमल्सेना रहनु भएको थियो भने विशेष अतिथिमा सम्झना भुजेल (महिला संयोजक, प्रास्लिन समिति), रुक थापा (पूर्व कोषाध्यक्ष), मिना बि.क. (महिला संयोजक) र अर्चना भुजेल (पूर्व महिला संयोजक) लगायतका व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय थियो।

 

महिला संयोजक सम्झना भुजेलले स्वागत मन्तव्य दिँदै कार्यक्रमको सुरुवात गरेकी थिइन्। प्रमुख अतिथि थानेश्वर तिमल्सेनाले शुभकामना मन्तव्य दिँदै भने, “यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता, पहिचान र संस्कृतिको निरन्तरता बलियो बनाउँछ।”

 

सांगीतिक प्रस्तुतिहरूले कार्यक्रममा थप रौनकता भरेका थिए। कलाकार सुजन श्रेष्ठ, मिना बि.क., साजन श्रेष्ठ, ममता राई र बुद्ध तामाङले तिहार र छठ पर्व सन्देश बोकेका गीत तथा नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मन्त्रमुग्ध बनाए। गीतकार, लेखक तथा पत्रकार रामु जि.सी. ‘कमल’ले तिहार विशेष कविता ‘उज्यालो पर्व’ वाचन गरेका थिए। त्यसैगरी, देउसी–भैलो कार्यक्रमको नेतृत्व कलाकार टेकराज खड्काले गरेका थिए, जसमा सहभागीहरूले सामूहिक गायन र नृत्यमार्फत पर्वको उल्लास बाँडेका थिए।

 

कार्यक्रममा नेपाली परिकारहरू — सेलरोटी, अचार, दही–चिउरा लगायतका परम्परागत स्वाद प्रस्तुत गरिएको थियो। दीपावलीको उज्यालोमा सहभागीहरूले एकअर्कासँग माया, सौहार्द र शुभकामना साटेका थिए।

 

कार्यक्रम सञ्चालन बिकल्प बि.क. (भावुक) र सुजन श्रेष्ठले गरेका थिए। समापन सत्रमा सभाध्यक्ष मनोज बि.क.ले सबैलाई धन्यवाद दिँदै भने, “संस्थाको उन्नति, एकता र आपसी सम्बन्ध सधैं मजबुत रहोस्। यस्ता सांस्कृतिक र मिलनात्मक कार्यक्रमहरू निरन्तर गरिँदै जाऊन् भन्ने हाम्रो चाहना हो।”

 

अन्त्यमा सबै सहभागीहरूले दीपावली, नेपाल संवत् ११४६, भाइटीका र छठ पर्वको अवसरमा एकअर्कालाई शान्ति, समृद्धि, दीर्घायु र उज्यालो खुशीको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय