काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको मूल्यांकनका आधारमा यी तीन जनाको नाम छनोट गरेको हो।
यसअघि, बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना पेश गरेका थिए। तर, सर्टलिस्टमा रहेका अर्का उम्मेदवार चिरञ्जिवी चापागाईं अनुपस्थित रहेका कारण उनको प्रस्तुति हुन सकेन।
सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले भने यसअघि नै आफ्नो कार्ययोजना र अन्तर्वार्ता दिएका थिए। सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ हाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक हुन्।
सिफारिस समितिको निर्णयअनुसार यी तीनै जनाको नाम सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ। उक्त बैठकले उनीहरूमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने सम्भावना छ।
धितोपत्र बोर्ड गत पुस २० देखि कार्यकारी अध्यक्षविहीन छ। यसअघि अन्तर्वार्ता प्रक्रियामा सहभागी भएका सीमित उम्मेदवारका कारण नाम छनोट हुन नसकेपछि सरकारले नयाँ समिति गठन गरी प्रक्रिया पुनः थालेको थियो।