काठमाडौं। नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरूले तीजका गीतहरू सार्वजनिक गर्नेक्रम बाक्लिँदै गएको छ। सयौं गीतहरू सार्वजनिक भइसकेका छन् भने केही गीतहरू सार्वजनिक हुने क्रममा छन्। यसबीचमा, धेरै गीतहरूले आलोचना खेपिरहेका छन् भने केही गीतहरू दर्शक र स्रोताको मन जित्न सफल भइरहेका छन्।
यसैबीच, लोकप्रिय गायक तारापति सुवेदीको नयाँ तीज गीत 'छोरी विनाको तीज' सार्वजनिक भएको छ। असली तीजको भाव बोकेको यो गीतको अडियो र भिडियो सबै पक्ष निकै दमदार बनेका छन्। गीतको शब्द सिर्जना आरती सापकोटा अधिकारीले गरेकी हुन् भने आवाज तारापति सुवेदी, आरती सापकोटा, र विनिता सापकोटाको रहेको छ।
गीतको म्युजिक भिडियो दिपक अधिकारीले निर्देशन गरेका छन् भने गणेश सापकोटाले नृत्य निर्देशन गरेका छन्। तारापति सुवेदीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन्।
'छोरी विनाको तीज' गीतले नेपाली तीज पर्वको मौलिकता र भावनालाई उजागर गर्दै दर्शकलाई भावुक बनाएको छ।