काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा बाढी प्रभावितका लागि राहत तथा सहयोग रकम पठाउन मोबाइल बैंकिङ र ई–मनीमार्फत हुने भुक्तानीमा लगाइएको कारोबार सीमा हटाएको छ। बाढी प्रभावितलाई आर्थिक सहयोग गर्न सहज होस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा कारोबारको सीमा लागू नहुने भएको छ। कोषका लागि रकम संकलन गर्ने राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा मोबाइल बैंकिङ तथा ई–मनीमार्फत रकम पठाउँदा यस्तो सुविधा उपलब्ध हुनेछ।
यसअघि केन्द्रीय बैंकको एकीकृत निर्देशनअनुसार मोबाइल बैंकिङबाट दैनिक अधिकतम ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत एकपटकमा अधिकतम २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो। अब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउँदा यी सीमा लागू हुने छैनन्।
त्यसैगरी बैंक खाताबाट वालेटमा रकम पठाउँदा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्मको सीमा रहेको छ। वालेटबाट बैंक खातामा रकम पठाउँदा पनि दैनिक २ लाख र मासिक १० लाख रुपैयाँकै सीमा कायम छ। एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ।
राष्ट्र बैंकले राहत तथा उद्धारका लागि गरिएको भुक्तानीमा मात्र सीमा हटाएको स्पष्ट पारेको छ। अन्य सामान्य कारोबारमा भने विद्यमान भुक्तानी सीमा यथावत् रहनेछ।