शेयर बजारमा उत्साह: नेप्सेसँगै कारोबार रकम पनि उच्च

साताको अन्तिम कारोबार दिन शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। बैंकिङ उपसमूहमा आएको मजबुत वृद्धि कारण NEPSE परिसूचक उच्च अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से ६४.६९ अंकले उकालो लाग्दै २८७७.०३ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि उल्लेख्य रूपमा बढेका छन्। बजारसँगै कारोबार रकममा समेत उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन १२ अर्ब रुपैयाँ आसपास सीमित रहेको कारोबार यस दिन बढेर २१ अर्ब २२ करोड रुपैयाँ नाघेको छ। कुल ३४२ कम्पनीका करिब ५ करोड ६९ लाख कित्ता शेयर किनबेच भएका छन्।

यस दिन सबै १३ उपसमूह हरियो देखिएका छन्। विशेषगरी विकास बैंक र बैंकिङ उपसमूहमा सबैभन्दा धेरै वृद्धि भएको छ। साथै जलविद्युत र जीवन बीमा उपसमूहमा पनि २ प्रतिशतभन्दा बढीको उछाल आएको छ भने अन्य अधिकांश उपसमूह पनि १ प्रतिशतभन्दा माथि बढेका छन्।

कारोबारका क्रममा चार कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले उच्च लाभ कमाएका छन्। होटल फरेष्ट इन र सान्जेन जलविद्युतको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। यता, नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई मूल्य भने सबैभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यसपछि नेशनल हाइड्रोपावर र रिडी हाइड्रोपावरमा पनि उच्च कारोबार भएको देखिन्छ।

प्रतिक्रिया