ओली विरुद्ध मोर्चाबन्दी गर्न प्रचण्ड निवासमा भेला

काठमाडौं–नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा चरम विवाद सृजना भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भए पछि ओलीले आजै संवैधानिक परिषदको बैठक राखेका छन् ।

ओलीले अध्यादेश जारी गरेपछि पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्नका लागि अर्का अध्यष पुष्पकमल दाहाल पक्षधर नेताहरु प्रचण्ड निवासमा भेला भएका छन् । भेलामा ओली इतर नेपाल पक्षधर नेता पनि सहभागी छन् ।

ओलीले एकलौटी रुपमा अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विरोध जनाएका छन् । विहान बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि ओलीले अध्यादेश संशोधन गरेर सभामुखको अनुपस्थितिमा नै बैठक बस्ने तयारी गरेका हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार तत्काल बदनीयतपूर्ण ढंगले ल्याइएको अध्यादेश खारेज गरी संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन् । ओलीको रणनीति फेल पार्नका लागि ओली इतर पक्षका नेताहरु भेला भएका हुन् । स्थायी कमिटी सदस्य भीम रावलले अध्यादेश खारेज नभए के कदम चाल्ने भन्ने बारेमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया