सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभर जारी रहेको चिकित्सकहरूको आन्दोलन फिर्ता भएको छ। सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी थिए।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।

त्यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा संयुक्त कार्यदल गठन गर्ने तथा त्यसको कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने विषयमा पनि सहमति भएको छ।

सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै देशभर नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय