नेपाल प्रेस युनियनद्वारा ‘सामाजिक सञ्जाल विधेयक’ फिर्ता गर्न माग

नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ। काठमाडौँमा आयोजित प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनपछि १२ बुँदे घोषणापत्र जारी गर्दै युनियनले विधेयकप्रति गम्भीर असहमति जनाएको हो।

युनियनका अनुसार, उक्त विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने प्रावधान समेटिएको छ। सरोकारवाला पक्षहरूसँग छलफल तथा परामर्श गरेर मात्र विधेयक अघि बढाउनुपर्नेमा जोड दिँदै, प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि यो विधेयक फिर्ता लिनुपर्ने माग गरिएको छ।

सम्मेलनमा युनियनका सांगठनिक गतिविधि, श्रमजीवी पत्रकार तथा पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रविधिको विकासले सञ्चार क्षेत्रमा थपेका चुनौती, सञ्चार ऐन-कानुन र सञ्चारमाध्यमका समस्याबारे छलफल भएको थियो।

युनियनले महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरेको छ। साथै, सम्मेलनका सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया