प्री–आईपीओ नाममा हुने अवैध सेयर बिक्री रोक्न बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘प्री–आईपीओ’ को नाममा भइरहेको अवैध सेयर बिक्री र रकम संकलन तत्काल रोक्न निर्देशन दिएको छ।

बोर्डले सोमबार सूचना जारी गर्दै यस्तो गतिविधि कानुन विपरीत भएको र संलग्न व्यक्तिहरू दण्डनीय हुने चेतावनी दिएको हो। केही कम्पनीहरूले छिट्टै आईपीओ आउने भन्दै भ्रम फैलाएर लगानीकर्ता आकर्षित गरिरहेको बोर्डले जनाएको छ।

व्हाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल र एसएमएसमार्फत ‘प्री–आईपीओ’ भन्दै अवैध रूपमा रकम संकलन भइरहेको गुनासो बोर्डमा आएको छ।

बोर्डले प्रचलित कानुनमा ‘प्री–आईपीओ’ भन्ने व्यवस्था नै नभएको स्पष्ट पार्दै, बिना अनुमति सार्वजनिक रूपमा सेयर बिक्री–वितरण गर्न पाइने कानुनी आधार नरहेको जनाएको छ। गैरकानुनी कारोबारमा संलग्न भएमा कानुनी कारबाही हुने चेतावनी बोर्डले दिएको छ।

प्रतिक्रिया