सामोआमाथि फराकिलो जित, नेपाल पहिलो पटक आईसीसी च्याम्पियन

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपालले ऐतिहासिक उपाधि हात पारेको छ। नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै पहिलो पटक आईसीसी उपाधि जितेको हो।

 

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको ठूलो योगफल बनायो। २१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै सीमित रह्यो।

 

सामोआका लागि सिन सोलिआले ३७ बलमा २ चौका र १ छक्कासहित ४० रन बनाए भने बेन्जामिन माइलाटाले ११ रनको योगदान दिए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका बलर ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले समान १–१ विकेट झारे।

 

नेपालका ब्याटरहरू मध्ये आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए। दीपेन्द्र सिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको अर्धशतकीय पारी खेले। कुशल भुर्तेलले १७ रन, आरिफ शेखले ९ रन जोडे भने कप्तान रोहित पौडेल र लोकेश बम क्रमशः २१ र ३९ रनमा अविजित रहे।

 

सामोआका बलर डेनियल बर्गेस, साउमानी तिआइ, दरिउस विसर र नोआ मिडले समान १–१ विकेट लिए।

 

यसअघि नेपालले सुपर सिक्स चरणमा यूएईलाई १ रन, कतारलाई ५ रन र ओमानलाई ३८ रनले पराजित गरेको थियो। एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमान र यूएईले आगामी २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय