काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाइएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छापिइसकेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम नियमित रूपमा भइरहेको आयोगले जनाएको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ। यसका साथै मतदाता शिक्षाका लागि प्रयोग हुने १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिइसकेको आयोगले जानकारी दिएको छ। निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सामग्री समयमै तयार पारिएको आयोगको भनाइ छ।
निर्वाचनसम्बन्धी जानकारी प्रवाह गर्न आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा विभिन्न सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ। ती सामग्री आयोगका आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण गरिएको छ। यस्ता सामग्रीले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई सही र विश्वासयोग्य सूचना उपलब्ध गराउने तथा भ्रमपूर्ण सूचनाको प्रभाव घटाउने विश्वास आयोगले लिएको छ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरूलाई ब्रिफिङ गरेको छ। सो अवसरमा निर्वाचनको वातावरण, आयोगका तयारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणसम्बन्धी विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।