ओली बिनै अघि बढ्यो नेकपाः स्थायी समितिमा प्रचण्डको ब्रिफिङ, केन्द्रीय समिति सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहभागिता बिनै अघि बढेको छ । आइतबार पार्टी पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएका हुन् । उनले स्थायी समिति बैठकको औचित्य नभएको भन्दै सो बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका छन् भने सचिवालय बैठकमार्फत नै समस्याको हल खोजिनुपर्नेमा जोड दिँदै आएका छन् ।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

आजको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए ।

बैठकमा सहभागी नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उनले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए ।

ओलीको असन्तुष्टिका बीच बैठकमा ओली र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश भएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अर्को बैठक २८ गतेका लागि बोलाइएको र यसअघि नै तय भएको मंसिर २५ को केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रचण्डले पार्टीभित्र देखिएको समस्याका सन्दर्भमा केन्द्रीत रहेर बैठकलाई ब्रिफिङ समेत गरेका थिए ।

प्रतिक्रिया