मध्य भोटेकोशीको डेढ करोड कित्ता आइपिओ आउने

काठमाडौं–मध्य भोटेकोशीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ ) निष्कासन गर्ने भएको छ ।

आइपिओ जारी गर्न भोटेकोशीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो । धितोपत्र बोर्डले अध्ययन गरी अुनुमति दिन अन्तिम चरणमा रहेको छ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई आइपिओ दिइसकेको भोटेकोशीले सर्वसाधारणका लागि आइअिपो जारी गर्न पाइपलाइनमा रहेको छ । धितो पत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्ने योजनामा रहेको छ ।

मध्य भोटेकोशी जलविद्युतले स्थानीय र सर्वसाधारणलाई गरी १ करोड ५० लाख कित्ता बराबरको एक अर्ब ५० करोड रुपैयाको सेयर निष्कासन गर्न लागेको हो । बोर्डबाट स्वीकृत पाउनासाथ आइपिओ निष्कासन गर्ने कम्पनीको तयारी छ । बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको जनाइएको छ ।

कम्पनीले सिन्धुपाल्चोकका स्थानीयलाई १० प्रतिशतले हुने ६० लाख कित्ता र सर्वसाधारणलाई १५ प्रतिशतले हुने ९० लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । २०७६ माघ ७ गते साधारण सेयर निष्कासन गर्नको लागि मध्य भोटेकोशी जलविद्युत कम्पनीले बोर्डका निवेदन दिएको थियो । बोर्डले कम्पनीका कागजातको अध्ययन गरेर आवश्यक कागजात माग गरेकोमा कम्पनीले कागजात बुझाई सकेको छ । आइपिओ निष्कासनकालागि स्वीकृत दिन अन्तिम चरणमा रहेको धितो पत्र बोर्डले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण शेयर पूँजी रहने छ । कम्पनीले अहिलेसम्म संस्थापक र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुबाट चार अर्ब ५० करोड रुपैयाँ पूँजी उठाइसकेको छ । सुरुमा आयोजनाको लागत १२ अर्ब २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। हाल १७ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

१०२ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ७० लाख रुपैयाँ लागत रहेको छ ।

प्रतिक्रिया