नागरिक स्टक डिलरले १ अर्ब ५० करोडको आईपीओ जारी गर्ने


काठमाण्डौ– नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले डेढ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश्वरलाल श्रेष्ठले बताए ।


नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ । डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ । कर्मचारी र सामूहिक लगानीकर्ताका लागि केही प्रतिशत सेयर छुट्याइने कम्पनीले जनाएको छ । नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत लगानी रहेको छ । ३० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।


चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको सिईओ श्रेष्ठले बताए । ‘आईपीओ जारी गर्नका लागि आवश्यक नीति बनाउने काम भइरहेको छ’, सीईओ श्रेष्ठले भने, ‘आईपीओ निष्कासनका लागि कम्पनीले सोहीअनुसार नतिजा र प्रदर्शन देखाउन पनि आवश्यक हुन्छ, त्यसका लागि हामीले भरपूर मेहनत गरिरहेका छौँ ।’ 
नागरिक स्टक डिलरले सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने र बजारको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बजारको स्थायित्वका लागि नागरिक स्टक डिलरले काम गरिरहेको सीईओ श्रेष्ठको दाबी छ । नागरिक स्टक डिलरले आमलगानीकर्तालाई ब्रोकरेज सुविधा पनि दिने विषयमा पनि सोचिरहेको सीईओ श्रेष्ठले जानकारी दिए । 
 

प्रतिक्रिया