शेयर बजार ओरालो, बैंक कर्जा उकालो

काठमाडौं — नयाँ सरकार गठनपछि शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन्। तर नेपाल राष्ट्र बैंक को पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा जाने कर्जा (मार्जिन लोन) भने बढ्दो क्रममा रहेको देखाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार यस्तो कर्जा १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा १ खर्ब ४० अर्ब ७० करोड रहेको कर्जा आठ महिनामा १५ अर्ब ५७ करोड ७३ लाख रुपैयाँले बढेको हो, जुन ११.१ प्रतिशत वृद्धि हो। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको ३१.५ प्रतिशत वृद्धिदरको तुलनामा यस वर्ष कर्जा विस्तारको गति केही सुस्त देखिएको छ।

तथ्यांकअनुसार शेयर बजारमा जाने कर्जाको ठूलो हिस्सा उच्च आय भएका तथा ठूला लगानीकर्ताको नियन्त्रणमा रहेको देखिएको छ। १ करोड रुपैयाँभन्दा माथिको कर्जा मात्रै १ खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जसले कुल मार्जिन कर्जाको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। आठ महिनामा यस वर्गको कर्जा १० अर्ब ७१ करोड ८८ लाख रुपैयाँले बढेको छ।

साना लगानीकर्ताको पहुँच भने सीमित देखिएको छ। २५ लाख रुपैयाँभन्दा कम कर्जा लिने समूहमा जम्मा ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्र प्रवाह भएको छ, जुन आठ महिनामा ७.१ प्रतिशतले मात्रै बढेको हो। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ६ करोड १६ लाख र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ पुगेको छ। मध्यम वर्गीय लगानीकर्ताको सहभागितामा केही सुधार देखिए पनि समग्र वितरण अझै असन्तुलित रहेको देखिन्छ।

यसले बजारमा तरलता क्रमशः बढ्दै गएको संकेत गरे पनि कर्जाको पहुँच समानुपातिक नभएको देखाउँछ। ठूलो संख्यामा लगानीकर्ता आबद्ध भए पनि साना लगानीकर्ताले बैंक कर्जामा सहज पहुँच नपाउनु नीतिगत चुनौतीका रूपमा देखिएको छ।

पछिल्लो एक सातामा शेयर बजार करिब १८२ अंकले घटेको भए पनि बैंकहरूबाट कर्जा प्रवाह बढिरहेको तथ्यांकले बजारमा संस्थागत तथा ठूला लगानीकर्ताको प्रभाव अझै बलियो रहेको संकेत गर्दछ।

प्रतिक्रिया