बीमा कम्पनीहरुलाई अर्थको कडा निर्देशन,तीन दिनभित्र भुक्तानी गर्नु

काठमाडौ – कोरोना बीमा शुल्क उठाएर भुक्तानी दिन आनाकानी गरिरहेका बीमा कम्पनीहरु अब भने उम्कन पाउने अवस्थामा छैन ।

अर्थमन्त्री बिष्णु पौडेल आएपछि यो विषयलाई गम्भीर रुपमा लिँदै भुक्तानी दिन पटक पटक ताकेता गरिरहेका छन् । यो भन्दा पहिला बीमा समिति मार्फत ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको मन्त्रलायले सो निर्देशनको कार्यान्वयन नभए पछि बिहीबार फेरि अर्को पत्र लेख्दै तीन दिनमा भुक्तानी दिन के बाधा पर्छ र आजसम्म किन भुक्तानी भएन भन्ने जवाफ मागेको छ ।

अर्थ मन्त्रलायले भुक्तानीको विवरण दैनिक मन्त्रालयमा उपलब्ध गराउन समेत कडा निर्देशन दिएको छ ।संकलन गरेको बीमाको प्रिमियम भन्दा धेरै भुक्तानी तिर्नुपर्ने अवस्था भएपछि बीमा कम्पनीले ढिलाई गरेका हुन ।

१ अर्ब भन्दा बढी बीमा शुल्क उठाइ सकेका बीमा कम्पनीहरुले भुक्तानीको लागि आनाकानी गर्दै आइरहेका छन । पछिल्लो समय व्यापक गुनासो आएपछि मन्त्रालयले यस अघि सरोकारवाला सँग छलफल गरी एक सातामा भुक्तानी दिन अनुरोध गरेको थियो ।

प्रतिक्रिया