विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन - राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताउनुभएको छ । मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिनेछ भन्नुभयो । “ राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । 

उहाँले हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अबका दिनहरुमा जनता र समाजको सेवा नै हाम्रो मूख्य लक्ष्य हुनुपर्दछ भन्नेमा विशेष जोड दिनुभयो । “समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरुलाई उत्प्रेरित गर्ने यस्ता कामहरुलाई यस संस्थाले निरन्तरता दिनेछ भन्ने पनि मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्वर्गीय मीनकुमारी लगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभयो । साथै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुशी व्यक्त गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गर्नुभयो ।

प्रतिक्रिया