काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
धितो पत्र बोर्डले स्वीकृति दिए पनि प्रभु लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्य दरका ६० लाख कित्ता सेयर बिक्री गर्न बाटो खुलेको छ ।
६० लाख कित्ता मध्ये पाँच प्रतिशत तीन लाख कित्ता सेयर कर्मचारीले पाउने छन् । बाँकी ५७ लाख कित्ता सेयर सर्वसाधारणले खरिद गर्न पाउने भएका छन् ।
सेयर बिक्रीका लागि प्रभु लाइफले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ । धितो पत्र बोर्डबाट स्वीकृति पाइसकेकाले आईपीओ जारीगर्ने मिति सिद्धार्थ क्यापिटलले तोक्नेछ । पहिलो चरणमा कर्मचारीहरु र दोस्रो चरणमा मात्र सर्वसाधारणको लागि आईपीओ खुल्ला गर्ने सिद्धार्थले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ प्रभु इन्स्योरेन्समा प्रभु ग्रुपबाट १२ जना सहित १७४ जना संस्थापक सेयरधनी रहेका छन् । यसका प्रमुख संस्थागत सेयर धनीहरुमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स रहेका छन् ।