अर्को साता चन्द्रागिरी हिल्सको आइपिओ आउने

काठमाडौ– आइएमई समूहले प्रवद्र्धन चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
चन्द्रागिरीले मंसिर १७ गतेदेखि आइपिओ खुला गर्ने निर्णय गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । कम्तिमा १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आइपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । आईपीओमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८का स्थानीयले आवेदन दिन पाउनेछन् । त्यसैगरी, मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का स्थानीयले पनि आवेदन गर्न पाउनेछन् । कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ ।

दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन तयारी छ । चन्द्रागिरी हिल्स अन्तर्गत केबलकार, चारतारे होटलसहित रहेका छन् ।

प्रतिक्रिया