काठमाडौँ — मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरु गर्न लागेका हुन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाईल्यान्डको मुख्यालय रहेको थाइ एयर एसियाले उडान सुरु गर्ने भएका छन्। यी तीनै एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमति पाइसकेका छन् र सोहीअनुसार उडान तालिका बनाइएको छ।
फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि नियमित उडान सुरु गर्नेछ। कम्पनीको यो पहिलो उडान हुनेछ। फ्लाई दुबईले हप्तामा सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान सञ्चालन गर्नेछ। क्यानबाट अनुमति पाएको तालिकाअनुसार फ्लाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आइपुग्नेछ र ३ः३० बजे काठमाडौँ हुँदै पुनः दुबई उड्नेछ।
यसैबीच, फ्लाई दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाको जानकारी लिएपछि तयारी कार्य तीव्र पारिएको महाप्रबन्धक तिवारीले बताएका छन्।
यस्तै, जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सुरु गर्दैछ। यसअघि १० महिना उडान सञ्चालन गरेर रोकिएको उक्त एयरलाइन्सले पुनः सोही विमानस्थलमा हप्ताको तीन दिन — मङ्गलबार, बिहीबार र शनिबार — उडान गर्ने तालिका बनाएको छ।
जजिराको विमान बिहान ७ः३० बजे भैरहवा आउँछ र ८ः३० बजे कुवेतका लागि उड्नेछ। विमानस्थलले क्यानबाट अनुमति पाएको जानकारी दिएको छ।
थाई एयर एसियाले पनि छिट्टै उडान सुरु गर्ने योजना बनाएको छ। प्राविधिक टोलीले केही समयअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो। महाप्रबन्धक तिवारीका अनुसार प्राविधिक टोलीलाई विमानस्थलको बजार विश्लेषण र अन्य फाइदाबारे विस्तृत जानकारी गराइएको छ। यद्यपि, एयरलाइन्सले कहिलेदेखि उडान सुरु गर्ने भन्नेबारे टुंगो लागेको छैन।
नेपालमा पर्यटन र व्यापारिक सम्भावना बढाउन सरकारी कार्ययोजनाअनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार तयार गरिएको छ। एयरलाइन्सलाई थप चासो दिन प्रेरित गर्न सरकारले हवाई इन्धन र टिकटमा सहुलियत दिने कार्ययोजना ल्याएको छ। आजको कान्तिपुर दैनिकबाट