काठमाडौं—अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा हेरिएको पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । पछिल्लो समय इन्स्योरेन्स, लघुवित्त संस्था, जलविद्युत् आयोजनाहरुले पुँजी वृद्धि गर्न धमाधम प्राथमिक शेयर (आइपीओ)सार्वजनिक गर्दै आएका छन् ।
पछिल्लो पटक पूर्वाधार परियोजनामा समेत लगानी गर्न स्थापना भएको नेपाल इन्फास्ट्रक्चर बैंकले पनि प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरेको छ । इन्फास्ट्रक्चर बैंकले निष्कासन गर्न लागेको आइपिओ बैंक तथा वित्तीय संस्थाको सबैभन्दा ठूलो रकम बराबरको हो ।
नेपाल इन्फास्ट्रक्चर बैंकको बुधबार सम्पन्न दोस्रो वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको पूँजी २० अर्ब रुपैयाँ पु¥याउन आईपीओ निष्कासन गर्न लागेको हो । साधारण सभाले पारित गरेकाले अब बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डबाट स्वीकृत पाएपछि बैंकलाई आइपीओ निष्कासन गर्न बाटो खुल्नेछ । आईपीओ निष्कासनपछि इन्फास्ट्रक्चर बैंकको पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
पूर्वाधारमा लगानी गर्ने प्राथमिकता राखेको बैंकले गत आर्थिक वर्ष जलविद्युत, सिमेन्ट क्लिङ्कराइजेशन र सौर्य उर्जासमेत ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरी ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्ष ०७७÷७८मा तीन वटा परियोजनाहरुमा २ अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म ८ अर्ब ८५ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरेको छ ।