काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा महत्वपूर्ण भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको महासंघले जनाएको छ।
सो अवसरमा दुवै देशबीच व्यापार र लगानी प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक काठमाडौंमा छिट्टै आयोजना गर्ने सहमति भएको छ। अध्यक्ष ढकालले जेबीसीलाई दुवै देशका व्यवसायीहरूलाई नजिक ल्याउने र व्यापारिक सहकार्यलाई बलियो बनाउने संयन्त्रका रूपमा उल्लेख गर्दै सदस्य सूचीलाई चाँडै अन्तिम रूप दिनुपर्नेमा जोड दिनुभयो।
ढकालले कतारले परिषद् स्थापनामा दिएको सहकार्यको प्रशंसा गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेको भन्दै कतारी लगानीकर्तालाई नेपालमा आकर्षित हुन आग्रह गर्नुभयो। उनले जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको विशेष सम्भावना रहेको उल्लेख गरे। साथै, नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई कतारसँगको सहकार्यले अझ सबल बनाउने विश्वास व्यक्त गर्दै एआई–आधारित व्यावसायिक उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली तथा लगानी प्रवद्र्धनका लागि डिजिटल प्लेटफर्म विकासमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव प्रस्तुत गरे।
उनले थपे, “कतारले अपनाएको उन्नत प्रविधि र त्यसबाट पाएको अनुभवले नेपाललाई प्रविधि–मैत्री व्यावसायिक वातावरण बनाउन ठूलो टेवा पुर्याउनेछ।”
यसैबीच कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले जेबीसीलाई शीघ्र अन्तिम रूप दिनुपर्ने आवश्यकता औंल्याउँदै यसलाई थप प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे। उनले नेपालसँग आर्थिक सम्बन्धलाई सुदृढ बनाउन आफ्नो तर्फबाट पहल गर्ने र यस्ता भेटघाटलाई निरन्तरता दिने आश्वासन पनि दिए।
महासंघका अध्यक्ष ढकालले भेटका अवसरमा कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (NIES) मा सहभागी हुन आमन्त्रण गरे। उनले सम्मेलनमा विशेष “कतार केन्द्रित लगानी सत्र” आयोजना गर्ने तयारी भइरहेको उल्लेख गर्दै यसले दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले कतारमा नेपाली कृषि उत्पादन—चिया, कफी, अलैंची, जडीबुटी र प्रशोधित खाद्यवस्तु—को ठूलो सम्भावना रहेको बताए। उनले यी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन प्रमाणिकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङका पहलमा सहकार्य गर्न प्रस्ताव गरे।
भेटमा कतार चेम्बरका अध्यक्ष अल थानीसहित उच्च पदाधिकारी तथा व्यवसायीहरूको सहभागिता रहेको महासंघले जनाएको छ।