हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले आइतबार बिहान अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने सातै प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानमा र अन्य केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशको पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ। उच्च पहाडी र हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
रातिको मौसम पनि बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
साथै, कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाको भनाइ छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।