कांग्रेसले निर्वाचनमा भाग लिन्छ र सफल बनाउँछ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई संविधानलाई सही मार्गमा ल्याउने एक मात्र उपायको रूपमा व्याख्या गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।”

थापाका अनुसार प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा नेपाली कांग्रेसले यही धारणा स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ। उनले लेखेका छन्, “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।”

हाल कांग्रेसभित्र भइरहेको छलफल र अलमल निर्वाचन मितिसँग सम्बन्धित नभएको स्पष्ट पार्दै थापाले भनेका छन्, “अहिलेको छलफल र अलमल अधिवेशनबारे हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।”

उनले पार्टीको अधिवेशन पनि निर्वाचनअघि सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। “अधिवेशनबाट आउने नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ,” थापाले लेखेका छन्।

महामन्त्री थापाले नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने मात्र नभई त्यसलाई सफल बनाउने दृढता पनि व्यक्त गरेका छन्। उनका अनुसार, “कसैले पनि द्विविधा नराखौँ, कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिन्छ र यसलाई सफल पनि बनाउँछ।”

प्रतिक्रिया