काठमाडौं – बिहानी चिसो मौसममा सबैको मन् तातो चिया संगै न्यानो हुन्छ तर त्यही गुलियो चिनी बनाउने उखु किसान भने अहिले अमिलो मन् लिएर काठमाडौ आएका छन् ।
उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । यो भन्दा अगाडि सरकारको रोहबरमा सबै बक्यौता दिने सहमतिमा किसान घर फर्किएका थिए । तर सम्झौताको आज सम्म पनि पालना हुन सकेको छैन ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।’ यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।