जेनजी आन्दोलनपछि लगानी र पर्यटन क्षेत्र प्रभावित रहेको अर्थमन्त्रीको टिप्पणी

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्। उनले मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आईटी क्षेत्रमा सेवा निर्यात गर्ने कम्पनीहरूले विदेशमा २० हजार अमेरिकी डलरसम्म लगानी गर्न निःशर्त विदेशी मुद्रा सटहीको व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार ज्ञान र सीप प्रयोग गरी आईटी व्यवसायबाट विदेशी मुद्रा भित्र्याउन चाहने उद्यमीलाई सहजता पुर्याउन यो व्यवस्था गरिएको हो। विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किएर पनि उस्तै प्रकृतिको काम र पारिश्रमिक पाउन सक्ने वातावरण बनाउन सरकार गृहकार्य गरिरहेको उनले बताए।

अर्थमन्त्री खनालले नेपालबाटै रिमोट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण बनाउन युवाहरूले उठाउँदै आएको मागलाई अतीतमा राज्यले गम्भीर रूपमा नबुझेको स्वीकार गरे। उनले आर्थिक विकासका लागि कानुनलाई अध्यादेशमार्फत परिवर्तन गर्नुभन्दा नीति तथा नियममै आवश्यक संशोधन गर्दै जाने बताए। हाल आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन भइसकेको उनले जानकारी दिए।

उनले कांग्रेस महामन्त्री गगन थापाले उल्लेख गरेको ‘कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने’ कथन यथार्थपरक भएको टिप्पणी गर्दै अहिले काठमाडौंका विभिन्न स्थानमा रहेका चिया पसलहरूमा पनि धेरै युवाहरू रिमोट वर्कमा संलग्न रहेको बताए।

जेनजी आन्दोलनपछिको परिस्थितिले पर्यटन उद्योग र लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै अर्थमन्त्री खनालले यसमा सरोकारवाला सबैको ध्यान आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया