इन्धनको मूल्य अब घट्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने संकेत गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य अब क्रमशः सामान्य अवस्थामा फर्किन थालेको बताए।

अर्थमन्त्री वाग्लेले मूल्यवृद्धिको प्रभावबाट उपभोक्तालाई राहत दिन सरकारले तत्काल कदम चालेको उल्लेख गरे। उनले आफू अर्थमन्त्री नियुक्त भएको दुई साताभित्रै डिजेल, पेट्रोल तथा मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल र पेट्रोल तथा डिजेलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट प्रदान गरिएको जानकारी दिए।

“मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनको मूल्य बढ्दा आम उपभोक्तामाथि थप भार परेको थियो। त्यसलाई कम गर्न सरकारले भन्सार महसुल तथा पूर्वाधार विकास करमा सहुलियत दिएको हो,” उनले भने।

वाग्लेले पछिल्लो समय मध्यपूर्वको अवस्था क्रमशः सहज बन्दै गएको र त्यसको सकारात्मक प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा देखिन थालेको बताए। नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य समायोजनको प्रभाव देखिन केही समय लाग्ने उनको भनाइ थियो।

“भारतीय आयल निगममार्फत आयात हुने भएकाले मूल्य समायोजन भएर आउन केही समय लाग्न सक्छ, तर अब इन्धनको मूल्य घट्ने दिशामा रहेको छ,” उनले भने।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय