काठमाडौं, - नक्कली भुटानी शरणार्थी बन्ने प्रक्रियामा सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश काठमाडौं जिल्ला अदालतले दिएको छ।
मंगलबार जारी भएको आदेश अनुसार, थापालाई सीआईबीको टोलीले असार १४ गते कपनबाट पक्राउ गरेपछि थुनामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ।
प्रतीक नक्कली भुटानी शरणार्थी बन्ने प्रक्रियामा सहयोग गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार थिए।
प्रहरीको अनुसन्धान अनुसार, यस भ्रष्टाचारपूर्ण योजनामा पूर्वगृहमन्त्री थापा आफैँ बिचौलियाको भूमिका निर्वाह गर्दै पीडितहरुबाट रकम लिइरहेका थिए।
भुटानी शरणार्थी प्रकरणमा पीडितहरुले थापाविरुद्ध जाहेरी दर्ता गरेका थिए। यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र अन्य संलग्नहरुलाई पनि पक्राउ गरी कानूनी कारबाही गरिने जिल्ला प्रहरी परिसरले जनाएको छ।