गातार दोस्रो दिन घट्यो नेप्से,कारोबार ४ अर्ब १० करोड

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंकले घटेको छ। अघिल्लो कारोबार दिन १९.१३ अंकले घटेको बजार मंगलबार पनि निरन्तर ओरालो लाग्दै २ हजार ५९४ विन्दुमा झरेर बन्द भएको हो।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। मंगलबार कुल ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

मंगलबार दुईवटा उपसमूह मात्रै बढेका छन्। विकास बैंक समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूह घटेका छन्। बैंकिङ समूह ०.०३ प्रतिशत, वित्त ०.९१ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जलविद्युत् ०.४२ प्रतिशत, लगानी ०.०८ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत, लघुवित्त ०.२७ प्रतिशत, अन्य ०.१८ प्रतिशत र व्यापार समूह ०.५७ प्रतिशतले घटेका छन्।

समूहगत कारोबारमा जलविद्युत् समूह सबैभन्दा अगाडि रहेको छ। मंगलबार कुल कारोबारको ६०.६६ प्रतिशत अर्थात् करिब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार जलविद्युत् समूहमा भएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ३८ करोड रुपैयाँ र वाणिज्य बैंक समूहमा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १४.९५ प्रतिशत, नाडेप लघुवित्तको ६ प्रतिशत, एभरेस्ट कलरको ५.७१ प्रतिशत र कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ। उन्नती सहकार्य लघुवित्तको ४.२३ प्रतिशत र रिजलाइन इनर्जीको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी र चन्द्रागिरि हिल्स अगाडि रहेका छन्।

लगातार दोस्रो कारोबार दिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बजारमा जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको आकर्षण कायम रहे पनि समग्र बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक ओरालो लागेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय