काठमाडौं - पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समुदायबीच झडप हुँदा २० जना घाइते भएका छन्। झडपको क्रममा स्थानीयले प्रहरीको गाडीमा आगजनी गरेका छन्। प्रहरीका अनुसार दुई समुदायका युवायुवतीबीचको प्रेम विवाहपछि उत्पन्न विवादले सोमबार झडपको रूप लिएको हो। करिब चार महिना अगाडि फरक समुदायका युवायुवतीबीच विवाह भएपछि तनाव जारी रहेको गाउँमा सोमबार गाडीले मान्छेलाई ठक्कर दिएको घटनाले विवादलाई उग्र बनाएको थियो।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले गाडीले ठक्कर दिएको विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको र विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू घाइते भएको जानकारी दिए। उनका अनुसार ५ जना स्थानीय, १२ जना जनपथ प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थानीयले प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडीमा बलेको टायर फालेर आगजनी गरेका थिए।
विवाद गाडीले ब्याक गर्दा मान्छेलाई ठक्कर दिएको घटनाबाट सुरु भई केटा र केटी पक्षबीच झडपमा परिणत भएको बताइएको छ। झडपका क्रममा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको थियो। सोही क्रममा ग्यारेज नजिकको घरबाट मानिसलाई उद्धार गर्न गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको थियो।
झडपमा घाइते भएका विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई अस्पताल लगिएको छ। हाल परिस्थिति नियन्त्रणमा रहेको अधिकारीहरूले बताएका छन्।