प्रधानमन्त्री बालेनसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग सरकारका मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम र हासिल गर्नुपर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।

प्रधानमन्त्रीको कार्यालयका अनुसार मन्त्रीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विभिन्न कार्य तथा उपलब्धिलाई आधार बनाएर कार्यसम्पादन सम्झौता गरिएको हो। सम्झौतामार्फत चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र निर्धारित लक्ष्यअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यसम्पादन सम्झौताले मन्त्रीहरूको जिम्मेवारी, कामको प्राथमिकता र अपेक्षित उपलब्धिलाई थप स्पष्ट बनाउने सरकारको विश्वास छ। साथै, सम्झौतामा उल्लेखित लक्ष्यअनुसार काम भए–नभएको मूल्यांकन गर्न समेत यसले आधार तयार गर्ने जनाइएको छ।

यसैबीच, आजै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यसचिवसँगको सम्झौतामा पनि सरकारका प्राथमिकता र निर्धारित कार्यसम्पादनलाई केन्द्रमा राखिएको छ।

प्रतिक्रिया