काठमाण्डौं - नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
श्रेष्ठको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्यमा छन्। धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ अनुसारनै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो। धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहनेगरि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस गर्ने समिति गठन गर्नुपर्ने व्यवस्था यस ऐनमा छ। यस समितिले प्राप्त निवेदनबाट कम्तीमा तीनजनाको नाम सिफारिस छनौट गर्नुपर्नेछ। यसरी छनौट गरिएका तीन जनामध्ये मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।धितोपत्र बोर्डको अध्यक्षबाट पुस २० मा रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड पछिल्लो १५ दिनदेखि अध्यक्षबिहिन अवस्थामा छ। अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि सरकारले त्यसो गर्न नसकेको हो। From bizpati