डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा हुनुहुन्छ । प्रदर्शनमा सहभागी युवाहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन् । केसीको स्वास प्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पुरा गरी केसीको माग पुरा गर्न माग गरिएको हो ।

केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ ।

माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् ।

प्रतिक्रिया