साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। केही दिन यता सुस्त देखिएको बजारमा यस दिन लगानीकर्ताहरु उत्साहित भएका देखिन्छन्।
यस दिन नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९८ अंक बढेर ३१०.१५ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स १.५६ अंक बढेर १०९.२४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.२५ अंक बढेर १०२.२५ विन्दुमा पुगेको छ।
बिहीबार १९३ कम्पनीको ४७ हजार ३२ पटकको कारोबारमा २ अर्ब ८० करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको ९९ लाख ३० हजार ८३० कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन अर्थात बुधबार १ अर्ब ९५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
नेप्से परिसूचक बढेसँगै यस दिन ५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन १ कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माउन्टेन हाइड्रो नेपालको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये हाइड्रोपावर र म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.३१ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंकको ३.४८ प्रतिशत बढेको छ। बैंकिङ्ग, व्यापार, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। हाइड्रोपावर उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बैंक अफ काठमाण्डू शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १४ करोड ७६ लाख ५६ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। यस दिन शिखर इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरका १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।