एकै दिनमा ४ हजारले घट्यो सुनको मूल्य

आज एकै दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन ४ हजार रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो ।



हिजो बुधबार एकै दिन प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज फेरी ४ हजार रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।



रुस र युक्रेनबीच सैन्य भिडन्त भइरहँदा निरन्तर उकालो लाग्दै दिनदिनै कीर्तिमान बनाइरहेको सुनको मूल्य आज घटेको हो । यससँगै, सुनचाँदी बजार इतिहासकै नयाँ कीर्तिमानी मूल्य कायम भएको सुन पुनः कीर्तिमानी मूल्य छुनबाट रोकिएको महासंघको भनाई छ ।



सुनसँगै ओरालो लागेको चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया