नेकपाका कार्यकर्ताले नेताका बारेमा फेसवुकमा लेख्न नपाउने

नेपाल कम्युनिष्ट पार्टीले आफ्नै नेता विरुद्ध कार्यकर्ताले फेसवुक ट्वीटरमा लेख्न नपाउने गरी प्रतिवन्ध लगाउने तयारी थालेको छ ।

अहिलेसम्म सत्तारुढ पार्टी नेकपाका नेता कार्यकर्ताले आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । आजै बस्नै स्थायी समिति बैठकले पार्टीका नेता विरुद्ध फेसवुक ट्वीटरमा जथाभावी लेख्न प्रतिवन्ध लगाउने निर्णय गर्न लागेको हो । स्थायी समिति बैठकमा प्रस्तुत गर्न तयार पारिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध फेसवुक ट्वीटरमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’ पार्टीमा अन्तर विरोध मौलाउँदा नेकपा कार्यकर्ताहरु एक अर्का नेताप्रति फेसवुकमा खनिदै आएका थिए ।

प्रतिक्रिया