इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाद्वारा प्यालेस्टाइनलाई मान्यता दिने कदमको कडा विरोध गरेका छन्। उनले जोर्डन नदीको पश्चिमतर्फ कुनै हालतमा पनि प्यालेस्टिनी राज्य नबन्ने चेतावनी दिएका छन्।
अमेरिका भ्रमणपछि औपचारिक प्रतिक्रिया दिने भन्दै नेतान्याहुले भने, “त्यहाँ प्यालेस्टिनी राज्य हुने छैन। हाम्रो भूमिको मुटुमा आतङ्कवादी राज्य निर्माण गर्ने प्रयास अस्वीकार्य छ।” उनले यी मुलुकहरूले आतङ्कवादलाई ‘ठूलो पुरस्कार’ दिएको आरोपसमेत लगाए।
उनले थपे, “वर्षौंदेखि मैले आन्तरिक र बाह्य दबाबका बाबजुद आतङ्कवादी राज्य बन्न दिइनँ। हामीले यहुदिया र सामरियामा यहुदी बस्तीहरू दोब्बर बनाएका छौँ र यो मार्गमा निरन्तर अघि बढ्नेछौँ।”
यसअघि अस्ट्रेलिया, क्यानाडा र बेलायतले संयुक्त रूपमा आइतबार प्यालेस्टिनी राज्यलाई मान्यता दिँदै दुई–राज्य समाधानको आह्वान गरेका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अस्ट्रेलियाले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइनलाई मान्यता दिन्छ। यसो गर्दा हामी प्यालेस्टिनी जनताको आफ्नै राज्यप्रतिको वैध र लामो आकांक्षालाई स्वीकार्छौं।”
यता, इजरायली विदेश मन्त्रालयले भने यस्ता घोषणाले शान्तिलाई कमजोर पार्ने र क्षेत्रलाई अझ अस्थिर बनाउने चेतावनी दिएको छ। मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “इजरायलले संयुक्त अधिराज्य र अन्य केही देशहरूले गरेको मान्यताको एकतर्फी घोषणा स्पष्ट रूपमा अस्वीकार गर्छ। यसले शान्तिलाई प्रोत्साहन गर्दैन, बरु भविष्यमा शान्तिपूर्ण समाधानको सम्भावनालाई कमजोर बनाउँछ।”
एएनआ