काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्दै भित्र केही सहजता अपनाउनेगरी निषेधाज्ञा कायमै गरिएको छ । यसअघि बिहान ९ बजेसम्म सञ्चालन गरिँदै आएका पसल अब ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गर्दै त्यस अवधिमा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी मात्र बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने भएको छ भने खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
त्यसैगरी विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय साथै छोटो दुरीका ढुवानीका लागि प्रयोग हुने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्नेछ । पीसीआर नेगेटिभ एका व्यक्तिबाट टेक अ वे सेवा सञ्चालन गर्न पाइनेछ भने सरकारले तोेकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरुको अभिलेख राख्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्रै सेवा सञ्चालन गर्न पाइनेछ । अनलाइन कक्षा सञ्चालन गर्न पाइनेछ भने क्वारेन्टिन र आइसोलेसनमा रहेकाहरुलाई खाना खुवाउने क्याटरिङ र होटल सञ्चालन गर्न पाइनेछ ।
विमानस्थलदेखि होटलसम्म जाने सवारी पनि सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ । स्वाब परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्यरुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ