• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • शिक्षा/स्वास्थ्य ,
  • समाचार

विद्यालयहरुले पनि ह्याप्पी लर्निङ प्याक चलाउन पाउने गरी टेलिकम र प्याब्सनबीच सम्झौता

विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ । कोभिड–१९ महामारीका कारण सिर्जित हालको कठिन परिस्थितिमा प्रचलित शैक्षिक प्रणालीबाट विमुख हुनुपरेकामा अनलाइन अध्ययनका लागि टेलिकमले सस्तोमा डेटा प्रदान गर्ने भएको हो ।

सम्झौताअनुसार मुलुकभरका विद्यार्थीले कम्पनीले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्न सक्नेछन् । सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनका उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरे ।

टेलिकमले विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकले पनि प्रयोग गर्न पाउने भएका हुन् ।

प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सयमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स वा गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी र ५ जीबी डाटा बाँडिएको छ ।

दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । सो सम्झौता अनुसार नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयलाई अनुरोध सहितको जानकारी पठाउने छ ।

प्रतिक्रिया