यस साता नेप्से परिसूचक ४.३३ प्रतिशत बढेर बन्द भएको छ। पाँच कारोबार दिनमध्ये चार कारोबार दिन उकालो लागेको नेप्से गत साताको तुलनामा ६०.४७ अंक अर्थात ४.३३ प्रतिशत बढेको हो।
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत साता करिब ५ अर्बको कारोबार भएको बजारमा गत साता ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
देशका अधिकांश स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका बाबजुत नेप्से र कारोबार रकममा वृद्धि भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन्। लकडाउन तथा निषेधाज्ञाका भएपनि अनलाइन प्रयोगकर्ता बढेसँगै बजारमा वृद्धि देखिएको हो।
गत साताको अन्तिम कारोबार दिन १,३९७.५७ विन्दुमा बन्द भएको बजार यस साता १,४५८.०४ विन्दुमा बन्द भएको हो। यस साता सेन्सेटिभ इण्डेक्स ३.०३ प्रतिशत अर्थात ८.७४ अंक बढेर २९७.१० विन्दुमा पुगेको छ।
यस साता कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७.२१ प्रतिशत बढेको छ। अंककका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। सो उपसमूहको परिसूचक यस साता ४८१.५२ अंक बढेको हो।
यस साताको विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टक सबैको लघुवित्त रहेको छ भने मोस्ट पपुलर सेल स्टक ग्लोबल आइएमई बैंक रहेको छ।