काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने तयारी भएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ । कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाबारे थप निर्णय र छलफल गर्न आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा समितिको बैठक बस्दै छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले बैठकमा निषेधाज्ञालगायत कोरोनामै केन्द्रित रहेर छलफल हुने बताए ।
जिल्ला सुरक्षा समितिको बैठकले यसअघि भदौ ३ बाट लागु हुने गरी एक साताका लागि संक्रामक रोग ऐन-०२० को दफा २ र स्थानीय प्रशासन ऐन-०२८ को दफा ६ (३) अनुसार निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो एक सातायता उपत्यकामा कोरोना संक्रमितको दर बढ्दो छ ।