आइसीयूमा नराख्दा कोभिड-१९ संक्रमितको मृत्यु, अस्पतालमा आइसीयू छ, जनशक्ति छैन

रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ का ५० वर्षका पुरुषको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो।

बुटवलमा निर्माण क्षेत्रमा काम गर्ने ती पुरुष काम गर्ने क्रममा खसेर घाइते भएका थिए।

‘सुरुमा बुटवलमै उपचार भयो। त्यसपछि उनी गाउँ आए,’ गाउँपालिकाका अध्यक्ष वछु केवट ‘बच्चुलाल’ले भने, ‘पछि अप्रेसन गर्नुपर्ने भएछ। अनि भैरहवा मेडिकल कलेज (युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस) मा लगिएको थियो। उपचारका क्रममा संक्रमण पुष्टि भएको हो।’

शल्यक्रियाका लागि अस्पतालमा भर्ना गरिएका उनमा पाँच गते संक्रमण पुष्टि भएको थियो।

‘अप्रेस गर्नु अगाडि परीक्षण भएको थियो। संक्रमण पुष्टि भयो,’ उनले भने, ‘मेडिकल कलेजमा उपचार खर्च बढी लाग्ने भएपछि परिवारका सदस्यहरुले भीम अस्पतालमा सार्न भनेका थिए। त्यही अस्पतालमा मृत्यु भयो।’

आइसीयूमा राख्नुपर्ने विरामीलाई भीम अस्पतालमा साधारण कोभिड वार्डमा राखेर उपचार भइरहेको थियो। सोमवार साँझ भीम अस्पताल पुर्‍याइएका उनको मृत्यु सोमवार नै राती भयो।

भीम अस्पतालमा आइसीयू भए पनि सञ्चालन गर्न सक्ने जनशक्ति नभएका कारण कोभिड वार्डमा नै राखेर उपचार गरिएको अस्पताल स्रोतले बतायो। परिवारकै जोडबलले उनलाई अस्पतालमा भर्ना लिइएको थियो।

प्रतिक्रिया