काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भदौ १० गते मध्यरातिसम्म जारी निषेधाज्ञाको अवधि ५ दिन बढाउने संभावना देखिएको छ ।
उपत्यकाका नगरपालिकाहरुको मेयरहरुको फोरमको सोमबार बसेको बैठकले कोरोना संक्रमणको दर अझै कम नभएको निश्कर्ष निकाल्दै तीनवटै जिल्ला प्रशासन कार्यालयहरुलाई निषेधाज्ञाको अवधि कम्तीमा भदौ १५ गतेसम्म कायम गर्न आग्रह गरेको हो ।
काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूहरुले निषेधाज्ञालाई अब कम्तीमा ५ दिन बढाउनुपर्ने सुझाव प्रमुख जिल्ला अधिकारीहरुलाई दिने निर्णय गरेको प्रष्ट पारे ।
उनका अनुसार १५ गतेसम्म निषेधाज्ञा लगाएर यो अवधिमा तीव्र गतिमा पीसीआर परीक्षणलाई अगाडि बढाउनुपर्ने, संक्रमितको सम्पर्कमा आएकाहरुको तीव्र गतिमा खोजी गर्नुपर्ने र यसका लागि नगरपालिकाहरु पनि अझ बढी सक्रिय बन्नुपर्नेमा बैठकले जोड दिएको छ ।
भदौ ४ गतेदेखि काठमाण्डौ उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण बाहिरी जिल्लाबाट कोही पनि प्रवेश गर्न नपाएका र एकपटक संभावित संक्रमित फेला पारिसकेपछि बढ्दो संक्रमणदर नियन्त्रण गर्न सकिने समेत उनले दाबी गरे । अहिले बाहिरबाट उपत्यकामा मान्छे भित्रिने अवस्था ठप्प छ । ‘अबको चुनौति भनेको पीसीआर टेस्ट चाँडोभन्दा चाँडो गर्ने नै हो ।’ उनले भने-‘हालसम्म संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि चुनौतिपूर्ण छ । निषेधाज्ञा ५ दिन थपेर यो काम फत्ते गर्नुपर्छ ।’
उनले लामो समयको निषेधाज्ञाका कारण अर्थतन्त्र डामाडोल हुने भन्दै ५ दिन थपेर उपत्यका प्रवेश गर्ने नाकाको कडाई जारी राख्दै काठमाण्डौको आन्तरिक गतिविधि खोल्नुपर्नेमा जोड दिए ।
शाक्यका अनुसार मेयरहरुको बैठकले काठमाण्डौ उपत्यकाका स्थानीय निकायहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा समेत भदौ १५ गतेसम्म बन्दै राख्ने निर्णय गरेको छ ।
यसअघि साउन २६ गते बसेको उपत्यकाका मेयरहरुको बैठकले भदौ ९ गतेसम्म स्थानीय निकायबाट प्रवाह हुने अत्यावश्यकबाहेकको सेवा बन्द गर्ने निर्णय गरेका थिए । यही निर्णयपछि स्थानीय प्रशासनले समेत तीनवटै जिल्लामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो।