२४ घन्टामा उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।मंगलबार मात्रै १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौंका १३४ जना, भक्तपुरका ८ जना र ललितपुरका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन्।यस्तै क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया