भुजुङ्ग हाइड्रोपावरको आईपीओमा माघ १२ देखि आवेदन दिन सकिने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र एक लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्काशन भइसकेको छ। दोस्रो चरणमा कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुनेछ। कम्पनीको आईपीओ रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ‘सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

भुजुङ्ग हाइड्रोपावरले सञ्चालन गरेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाबाट कम्पनीले २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन सुरु गरिसकेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सि–आस्वा प्रणालीमार्फत दिन सकिनेछ।

प्रतिक्रिया