असोज ७ देखि ३५ दुर्गम गाउँपालिकामा एम्बुलेन्स हस्तान्तरण - मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका छन्। विभिन्न कारणले विगत एक वर्षदेखि स्थगित कार्यक्रम असोज ७ गतेबाट पहिलो चरणमा सुरु हुने भएको हो।

प्रमुख शाहका अनुसार सुरुवाती चरणमा देशभरका ३५ दुर्गम तथा छनोटमा परेका गाउँपालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरिनेछ।

आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शाहले स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले वितरणका लागि पारदर्शी मापदण्ड तयार गरिएको र स्वास्थ्य सुविधाको अभावमा पछाडि परेका दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।

‘हामी विश्वास गर्छौं, स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो,’ शाहले लेखेका छन्, ‘देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।’

उनले यो अभियान सुरुवात मात्र भएको र भविष्यमा यसलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। ‘यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने।

यसका लागि पारदर्शिता कायम गर्न पालिका छनोटका मापदण्डसमेत सार्वजनिक गरिएको उनले जनाएका छन्।

काठमाडौं महानगरको नेतृत्वमा रहे पनि शाहले पछिल्लो समय राष्ट्रिय विषयमा समेत सक्रिय चासो देखाउँदै आएका छन्। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने उनको यो पहललाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय