नेकपा कार्यदलले तयार गर्‍याे कार्यविधि : आजदेखि विषयबस्तुमा केन्द्रित छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलले आजदेखि विषयगत छलफल सुरु गर्ने भएको छ । ललितपुर भैँसेपार्टीस्थित पार्टी महासचिव विष्णु पौडेलको निवासमा बस्ने बैठकमा आजदेखि विषयगत छलफल सुरु हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यदलले हिजो पहिलो दिन आफ्नो कार्यविधि तयार गरेको थियो । जतिसक्यो छिटो सहमतिका लागि सुझाव पेश गर्ने जिम्मेवारी पाएको कार्यदलले आजदेखि दिनभर छलफल थाल्नेछ । कार्यदलका एक सदस्यले भोलिसम्म निकासका लागि सुझाव तयार गर्नेगरी काम थालिएको जानकारी दिए ।

नेकपामा विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनकै अवस्थामा पुगेको थियो । तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति उन्मुख छलफल गरेपछि महासचिव पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहेका छन् । कार्यदलले महाधिवेशन केन्द्रित भएर अध्यक्षद्वयबीच अनौपचारिक छलफलमा भएको सहमति अनुसारका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार गर्नेछ ।

प्रतिक्रिया