रूसकाे कोरोना भ्याक्सिन : एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने !

एजेन्सी, ३२ साउन । कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेकाे भ्याक्सिनबारे सर्वत्र चासाे र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खाेजिरहेका छन् ।

मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेकाे रूसकाे दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए । यसकाे नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।

पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दाबी गरेका छन् ।

यसैबीच रुसी एक अधिकारीले यो भ्याक्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् । उनले भ्याक्सिन लिएपछि २ वर्षसम्म काेराेना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् । रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सिनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका हुन् ।

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् ।

सुरक्षामा प्रश्न उठिरहे पनि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वयंले रुसी खोपको परीक्षण गर्ने बताएका छन् भने इजरेलले उत्पादन भएमा खरिदका लागि सम्झौता गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया