काठमाण्डौ, २२ साउन– कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई दुई जना, काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई गत सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो ।
तर इमर्जेन्सीमा पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे । स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए। यसै गरी मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसै गरी बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो ।
उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जनाकारी दिए । यस्तै सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आएका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो । थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । तर उनको बाटोमै मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।