फेरि लकडाउन गर्न विज्ञको सुझाव, सरकार भने नयाँ विकल्प खोज्दै

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकारलाई फेरि लकडाउन गर्न सुझाव दिएका छन्। काठमाडौं उपत्यकामा लकडाउन खुलेसंगै कोरोना भाइरस संक्रमणदर बढेको भन्दै सरकारलाई पुनः लकडाउन गर्न सुझाव दिएका हुन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसंग भएको छलफलमा यस्तो सुझाव आएको हो। तर, प्रधानमन्त्रीले फेरी लकडाउन गर्ने भन्दा पनि त्यसको विकल्प खोजर अघि बढनु पर्ने बताएको अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी गराए।

प्रधानमन्त्रीलाई उल्लेख गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपले पालन गरेर अघि बढ्नु पर्ने देखिन्छ। फेरी पछि फर्किने भन्दा पनि परिमार्जन गरेर जानुपर्छ।’

यस्तै शैक्षिक संस्थाहरु तत्काल खोल्न सक्ने अवस्था नरहेको मन्त्री खतिवडाले जानकारी गराए। ‘तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन। त्यसको लागि सरकारले थप तयारी गर्दैछ। त्यसबारे मन्त्रिपरिषद्ले निर्णय गर्नेछ,’ उनले भने।

मन्त्री खतिवडाले कोरोना रोकथामको लागि सरकारले मात्रै गरेर नहुने, सबै नागारिकहरु सचेत र जिम्मेवार हुनुपर्ने बताए। मनोवैज्ञानिक त्रास लिएर हिड्ने भन्दा पनि उच्च मनोबल राख्नुपर्ने उनको भनाई छ।

यस्तै नागरिकमा भ्रम फैलाउने गरी सूचना तथा समाचार सम्प्रेषण नगर्ने पनि सरकारको आग्रह गरेको छ।

प्रतिक्रिया